काठमाण्डौ । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर १ गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पुगेपछि राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।
आज बिहानदेखि राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज, काठमाण्डौ जाने गाडी बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका छन् ।
यसैबीच चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दी खोलामा पहिरो झर्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ । नाग्दी खोलाको पहिरो आंशिक हटाएर सडक खुला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ९डीएसपी० भेषराज रिजालले जानकारी दिनुभयो । बिहान ठूला ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
यसपालिको बर्खायाममा राष्ट्रिय राजमार्गअन्तर्गतका सडकको चार सय दुई ठाउँमा अवरुद्ध भएकोमा अहिले पनि आठ ठाउँको सडक पूर्णरूपमा अवरुद्ध छ । एक सय ९८ ठाउँमा एकतर्फी सञ्चालनमा रहेको र एक सय ९६ ठाउँको अवरोध पूर्णरूपमा हटाएको सडक विभागले जनाएको छ ।
यसैबीच अहिले देशका केही ठाउँमा पानी परिरहेको छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।











