चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठ वटा छावा
हात्तीको बच्चा थपिने भएका छन् । यस वर्ष दुई वटा बच्चा जन्मिसकेका छन् भने ६ वटा जन्मिने क्रममा छन् । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार यसअघि २०८० सालमा दुई वटा र २०७९ मा ६ वटा छावा जन्मिएका थिए ।
बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनः गर्भवती हुनयोग्य हुने जनाइएको छ । उहाँका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिन्छ ।
चौधरीका अनुसार प्रजनन केन्द्रमा अहिले ११ माउ र १० छावा छन् । हात्ती प्रजनन केन्द्र विं.सं.२०४४ देखि शुरू भएको हो । विं।सं। २०५४ देखि बच्चा जन्मिन थालेका थिए । अहिलेसम्म ६७ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ । यहाँ जन्मिएका छावालाई तालिम दिएर निकुञ्जका विभिन्न पोष्टमा सुरक्षार्थ परिचालन गर्ने गरिन्छ ।