काठमाण्डौ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलितरुपमा अगाडि बढाइने बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आर्थिक प्रगति र पर्यावरण संरक्षण सन्तुलिन हुनुपर्ने बताउनुभयो । उहाँले यसबारेमा बिगतमा केही त्रुटी भए पनि अब त्यसलाई नदोहोर्याउने बताउनुभयो ।
विश्वले विकास र पर्यावरणीय दिगोपन बीच सन्तुलन मिलाउन चुनौती सामना गरिरहेको भन्दै उहाँले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहन जस्ता समस्या पर्यावरणीय चुनौती मात्र नभइ अर्थतन्त्र, सुरक्षा, र सामाजिक स्थायित्वका लागि पनि गम्भीर खतराका विषय भएको बताउनुभयो ।
कृषि, जलविद्युत र पर्यटनमा आधारित नेपालको अर्थतन्त्रलाई जलवायु परिवर्तनको प्रभावले धेरै चुनौती ल्याएको उहाँको भनाइ छ । उहाँले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्य गरी हरित जलवायु कोष जस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रसुधारको बाटोमा रहेको बताउनु भयो । उहाँले देशको अर्थतन्त्र सुधार भएपनि बजारमा माग र आपूर्ति भने बढ्न नसकेको भन्दै सरकारको परिर्माजित नीतिको कारण केही सुधारका सङ्केतहरु देखिएको बताउनुभयो ।