काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारीबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ । उहाँले इन्द्रजात्राको अन्तिम दिन गएराति वसन्तपुरमा रहेको हनुमानढोका दरबार क्षेत्र पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नुभएको हो ।
प्रत्येक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीका एवम् प्रसाद ग्रहण गर्ने परम्परा छ । राष्ट्रपति पौडेलले गणेश, कुमारी र भैरवको दर्शन गर्नुभयो । टीका एवम् प्रसाद ग्रहणपछि राष्ट्रप्रमुखले कुमारीसँग खड्ग साट्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले खड्ग साट्नुभयो ।
भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजासहितको ‘लिङ्गो’ ठड्याएपछि शुरु हुने इन्द्रजात्रा गएराति सकिएको हो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्व भाद्र शुक्ल चतुर्दशीका दिन समापन गरिन्छ ।