काठमाण्डौ । परोपकारी संस्था हेड्स नेपालले परोपकारिताको क्षेत्रमा थप सक्रिय हुने र यसका लागि पालिकासँग सहकार्य गर्ने जनाएको छ । सामाजिक सेवा दिवसको अवसरमा परोपकारी संस्था हेड्स नेपालले ३१ औं वार्षीक साधारण सभा, अन्तरक्रिया कार्यक्रम र स्वास्थ्य प्रवर्धन कार्यक्रम काठमाण्डौको ढुङ्गेधारामा सञ्चालन गरेको छ ।
कार्यक्रममा अभिभावक, संस्थाका सदस्य र सामाजिक व्यक्तित्वको सहभागिता रहेको संस्थाका महासचिव दिव्यराज पौडेलले जानकारी दिनुभयो । साधारण सभाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले स्वास्थ्य, शिक्षा, कृषि र विपद् जस्ता क्षेत्रमा संस्थाले पुर्याएको योगदान महत्त्व रहेको बताउनुभयो । साथै उहाँले हेड्स विशेष स्मारिकाको लोकार्पण पनि गर्नुभयो ।
कार्यक्रममा पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक दल र नेताहरुले सुशासनको प्रत्याभूति दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका यूवाले जलवायू परिवर्तनसँगै बढ्दो तापमानको अवस्थामा अभिभावकले गर्नुपर्ने सावधानीका लागि भूमिका प्रदर्शन गरेका थिए ।
त्यस्तै मानव सेवा आश्रम, मानवता महाअभियानका रामजी अधिकारी, त्रिभुवन विश्वविद्यालय, आयूर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा। राम आधार यादव, निवर्तमान अध्यक्ष इश्वर चन्द बानियाँ, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाललगायतले स्वास्थ्य, शिक्षा तथा समाजसेवाका विविध आयाममा चर्चा गर्नुभएको थियो ।
समाजसेवामा संस्थामार्फत योगदान दिनुहुने इन्द्रप्रसाद पोखरेल, कृष्णकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ र विष्णु गौतमलाई सम्मान गरिएको छ । हेड्स नेपाल शिक्षा, स्वास्थ्य, कृषि र विपदको क्षेत्रमा सक्रिय रहेको र प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको महासचिव पौडेलले जानकारी दिनुभयो ।
योजना अनुसार आउँदा दिनमा संस्थाले सामुहिक सङ्कल्प, स्रोत व्यवस्थापन, गतिशील सङ्गठन, आर्थिक दिगोपन र सहकार्यमा आधारित परोपकारिताको सोँचबाट काम गर्ने उहाँले बताउनुभयो ।