काठमाण्डौ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगर अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।डिके रौशनले लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा बिरामीको लागि खरिद गर्नुपर्ने औषधि खरिददेखि डाक्टर,नर्सलगायतको तलबभत्ता दिन समस्या परेको बताउनुभयो । उहाँले अस्पतालको सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको समेत बताउनुभयो ।
नेपाल कोरिया नगरपालिका अस्पतालले स्वास्थ्य बीमा वापतको २१ करोड ५७ लाख रुपैयाँ भुक्तानी प्राप्त गर्न बाँकी रहेको जनाएको छ । दैनिक नौ सय जना बिरामीलाई सेवा दिँदै आएको अस्पताल बीमा रकम नपाएकै कारण सेवा बन्द हुने अवस्थामा पुगेको र मेडिकल उपकरणसमेत खरिद गर्न नसकेको उहाँले बताउनुभयो ।
डा।रौशनले दशैँअघिसम्म पैसा नआए कर्मचारीलाई दशैँको मुखमा तलब र दशैँ भत्ता दिन नसक्ने बताउनुभयो ।