काठमाण्डौ । बाढी पहिरोका कारण एक महिनादेखि ठप्प रहेको रसुवागढी नाकाबाट आजदेखि कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन् । रसुवागढी नाकाबाट चीनको केरुङतर्फको सडकमा धेरै क्षति पुगेकाले एक महिनादेखि चीनबाट नाकासम्म कन्टेनर आउन पाएका थिएनन् । चीन सरकारले सडकको पहिरो पन्छाएसँगै आजदेखि मालवाहक कन्टेनर नेपालको रसुवागढी नाकामा भित्रिन थालेका छन् । सडक क्षतिग्रस्त भएपछि दशैँ, तिहार र छठका लागि झिकाइएका मालसामान एक महिनादेखि चीनतिरै रोकिएका थिए ।
चिनियाँ अधिकारीहरूले सामानसहित १३ टन तौल भएका मालवाहक गाडीमात्र एकतर्फी आउजाउ गर्नसक्ने सूचना पठाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । कन्टेनरहरू बिहान केरुङबाट नेपाल आउने र बेलुकी नेपालबाट केरुङ जाने तालिका मिलाइएको पनि उहाँले बताउनुभयो ।
केरुङको गोदाममा राखेका र कन्टेनरमा लोड गरेका हजारौं टन मालवस्तु चीनतिरै छन्, यी मालवस्तु अब बिस्तारै नेपाल आउनेछन् । १३ टन तौलको सीमा तोकिएको र एकतर्फी सडकका कारण सबै सामान नेपाल आउन लामो समय लाग्ने भन्सार कार्यालयले जनाएको छ ।
स्याउ, आँप, किबी, ओखर, लसुनलगायतका कुहिने र सडेर जानसक्ने वस्तु रहेका कन्टेनर एक महिनादेखि रोकिँदा करोडौं रुपैयाँ नोक्सानी भएको व्यवसायीले गुनासो गरेका छन् ।











