काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) ले पालिका तहको उपचुनावमा सत्ता साझेदारबाहेकका दलहरूसँग सहकार्यको ढोका खुला राख्ने निर्णय गरेको छ ।
आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सत्ता साझेदारबाहेकका दलहरूसँग सहकार्य गर्न सक्ने निर्णय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । सत्ता साझेदार दलहरूसँग भने उपचुनावको बारेमा कुनै किसिमको छलफल र सहकार्य नगर्ने उहाँले बताउनुभयो ।
बैठकले उपचुनावमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको पक्षमा देशभर समर्थन बढ्दै गएको दाबी गर्दै चुनाव जित्ने सम्भावना रहेको बताउनुभयो ।
बैठकले जनपरिचालन गर्दै मङ्सिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने र आउँदो पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णयसमेत भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।











