सुर्खेत । भेरी करिडोरको एक सय १८ किलोमिटर लामो सडकअन्तर्गत जाजरकोटको नलगाड नगरपालिकाको तल्लुसम्म कालोपत्र गर्ने योजनाअनुसार अहिले ५६ किलोमिटर खण्डमा धमाधम काम भइरहेको छ । सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने यो सडक बाँकेको जमुनाहबाट शुरू भएर तिब्बतमा टुङ्गिन्छ ।
तीन सय १० किलोमिटरमध्ये सुर्खेतबाट जाजरकोटको तल्लुसम्मको ठेक्का लागेर काम भइरहेको हो । डोल्पाको दुनैसम्म ६२ किलोमिटर सडक ठेक्का लाग्न बाँकी छ । करिडोरमा पुल निर्माण अलपत्र छ । नलगाड खोला, झिर्मेखोला क्याराभान हिराचन जेभीले कामको जिम्मेवारी २०७७ माघ २ गते लिएको थियो ।
निर्माण कम्पनी क्याराभानले नै जाजरकोट, रुकुम पश्चिम र डोल्पाको सिमानामा रहेको त्रिवेणीमा जगदुल्ला जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको १५ करोड रुपैयाँको पुल अलपत्र पारेको छ ।
डोल्पा जाँदा वर्षायाममा पाँच ठाउँमा गाडी बदल्नुपर्ने अवस्था छ । भेरी करिडोरका अलपत्र पुलका बारेमा कार्यालयले निर्माण व्यवसायीसँग ताकेता गर्दा सुनुवाइ नभएको आयोजना प्रमुख सुनिल रन्जितकारले बताउनुभयो ।











