काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली विराटनगर किङ्ग्समा अनुबन्ध भएका न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगेका छन् ।
गप्टिललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विराटनगर किङ्ग्सका प्रतिनिधिले स्वागत गरेका थिए । ३८ वर्षीय ओपनिङ ब्याटर गप्टिलले एक सय २२ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतकसहित तीन हजार पाँच सय ३१ रन बनाएका छन् ।
यसअघि आजै दिउँसो क्यानडाका निकोलस किर्तोन विराटनगरबाट खेल्न नेपाल आइपुगेका छन् । पर्सि शनिवारदेखि शुरू हुने पहिलो संस्करणको प्रतियोगिताका लागि विदेशी खेलाडी धमाधम नेपाल आउने क्रम शुरू भएको छ ।
उद्घाटन खेलमा पर्सि दिउँसो १२ बजे विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स खेल्दैछन् । एनपीएलमा विराटनगर, जनकपुरसहित चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् ।