मकालु महोत्सव तथा दक्षिण एसियाली मुलुकहरुको साहित्यिक सम्मेलन हुने

मकालु गाउँपालिकाको आयोजनामा मकालु महोत्सव तथा दक्षिण एसियाली मुलुकहरुको साहित्यिक सम्मेलन हुने भएको छ । मकालुको नुममा हुने महोत्सव तथा सम्मेलन फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवका अवसरमा भलिबल प्रतियोगिता, मकालु गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान, स्थानीय झाँकी प्रदर्शन, स्थानीय उत्पादनका स्टलहरु, साँस्कृतिक कार्यक्रम र साहित्यिक सम्मेलन गरिने भएको छ । माघ १३ गते बसेको कार्यपालिकाको बैठकले उपाध्यक्ष मनकला राईको संयोजकत्वमा विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।

सरसफाई गर्न सूचना जारी
महोत्सव तथा सम्मेलनको अवसरमा नुम बजार क्षेत्र सरसफाई गर्न गाउँपालिकाले सूचना जारी गरेको छ । माघ १४ गते सार्वजनिक गरिएको सूचनामा १५ दिन भित्र आफ्नो घर वरपर, सार्वजनिक स्थल तथा सडकमा राखिएका विभिन्न वस्तुहरु हटाउन अनुरोध गरिएको छ । जथाभावि राखिएका दाउरा, ढुंगा, गिटी, बालुवा, सवारी साधन, कवाडी सामान र घर पालुवा पशु वस्तुहरु हटाउन भनिएको छ ।

साथै नुम बजारलाई सफा राखी आगामी सञ्चालन हुने महोत्सव तथा सम्मेलनलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न मकाल्ु बासीमा अनुरोध गरिएको छ । तोकिएको मितिमा निर्देशनलाई पालना नगरे कारबाही प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

गत वर्ष पनि गाउँपालिकाको आयोजना तथा द नर्थ वरुण युथ क्लवको संयोजनमा महोत्सव सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्ने संस्था र व्यक्तिहरु, हिमाल आरोहीहरुलाई सम्मान गरिएको थियो ।

७ दिन भित्र होटल तथा व्यवसाय दर्ता गर्नुपर्ने
महोत्सवलाई सफलतापुर्वक सम्पन्न गर्न होटल व्यवसायी तथा अन्य व्यवसायीहरुलाई सूची दर्ता गर्न र नवीकरण गर्न गाउँपालिकाले अनुरोध गरेको छ । माघ १३ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गर्दै माघ १४ गते सूचना जारी गर्दै यस्तो अनुरोध गरिएको हो । सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र सूची दर्ता तथा नवीकरण गर्नुपर्ने छ ।

सूचनामार्फत नै महोत्सवको अवसरमा व्यवसायीहरुलाई सक्रिय सहभागिता साथै गुणस्तरीय सेवा प्रवाहको गाउँपालिकाले अपेक्षा राखेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search