काठमाण्डौ । बिरामीले अस्पतालपिच्छे रिपोर्ट बोक्न नपर्ने निर्देशिका स्वीकृत भए पनि यो व्यवस्था कार्यान्वयनमा आउन केही दिन लाग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अघिल्लो हप्ता एकीकृत ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ स्वीकृत गर्नु भएको हो । एक ठाउँमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले विद्युतीय रुपमा प्राप्त गर्ने गरी निर्देशिका स्वीकृत भएको हो ।
निर्देशिका कार्यान्वयनमा आएपछि सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरुले विद्युतीय चिकित्सा अभिलेख प्रणालीअन्तर्गत एक अर्कासँग बिरामीका तथ्याङ्क तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्ने हुन्छ । यसअनुसार अस्पतालमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थामा पुग्नेछ । यसले गर्दा बिरामीले पटक पटक एकै खालका जानकारी हरेक ठाउँमा बुझाउनुपर्ने बाध्यता हुने छैन ।
यसबाट बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनको अन्त्य हुनुका साथै स्वास्थ्य सम्बन्धी नीति निर्माणमा एकीकृत तथ्याङ्क प्राप्त हुने मन्त्रालयले जनाएको छ । अघिल्लो हप्ता स्वीकृत भएको निर्देशिका कार्यान्वयनको लागि अस्पतालहरुसँग छलफल भइरहेको स्वास्थ्य मन्त्रलायका प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार एक, दुई हप्ताको गृहकार्य सकेपछि यो व्यवस्था कार्यान्वनमा आउनेछ ।
अहिले अस्पतालहरुमा विद्युतीय प्रणाली लागू भए पनि एक अर्काबीच तथ्याङ्क आदानप्रदान गर्ने खालका छैनन् । यसले गर्दा बिरामीले पटक पटक एकै खालका जानकारी हरेक ठाउँमा बुझाउनुपर्ने बाध्यता छ । नयाँ व्यवस्थापछि यो समस्या हट्ने मन्त्रालयका प्रवक्ता बुढाथोकीको भनाइ छ ।