मकालु महोत्सवमा प्रत्येक वडाको आ–आफ्नै स्टल राखिने

मकालु महोत्सवको लागि वडागत स्टलहरु राखिने भएको छ । मकालु गाउँपालिका भित्रका वडाहरुमा उत्पादन भएका कृषिजन्य उत्पादन तथा हस्तकला सम्बन्धी सामाग्रीहरुको आ–आफ्नै स्टल व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ । मकालु गाउँपालिकाको आयोजनामा हुने मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सांस्कृतिक महोत्सव फागुन १४ देखि १७ सम्म सञ्चालन हुनेछ ।

गाउँपालिकाले माघ २७ गते सूचना जारी गर्दै वडा नं. १ बाट भिर महुरीको मह, सिमल तरुल, मकै, भटमास, आलु आदिको स्टल राखिने छ । वडा नं. २ बाट मुर्ति, अलैँची, यार्सागुम्बा र अन्य जडिबुटि राखिनेछ । त्यसैगरि वडा न.ं ३ बाट राडिपाखी, सेतो चामल, दाल जस्ता कृषिजन्य सामाग्रीहरुको व्यवस्था मिलाईने छ । वडा नं. ४ बाट छुर्पि, लप्सिको अचार, खुकुरी, चौरीको पुच्छर ऊन आदिको स्टल राखिने छ । यसैगरि वडा नं ५ बाट राडिपाखी, ताकमारु चामल, अल्लो र ऊनको स्टल राखिने भएको छ । वडा नं. ६ बाट सिमल तरुल र फलफुलका अन्य सामाग्रीहरुको स्टल राखिनेछ ।

उक्त सूचनाका आधारमा आआफ्नो जिम्मेवारी पुरा गर्न साथै वडागत स्टलहरुको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
सम्मेलनको अवसरमा गत कार्यपालिकाको निर्णय बमोजिम नुम बजार क्षेत्र सरसफाई गर्न गाउँपालिकाले सूचना जारी गरेको थियो । माघ १४ गते सार्वजनिक गरिएको सूचनामा १५ दिन भित्र आफ्नो घर वरपर, सार्वजनिक स्थल तथा सडकमा राखिएका विभिन्न वस्तुहरु हटाउन अनुरोध गरिएको थियो । जथाभावि राखिएका दाउरा, ढुंगा, गिटी, बालुवा, सवारी साधन, कवाडी सामान र घर पालुवा पशु वस्तुहरु हटाउन सूचनामा उल्लेख गरिएको थियो ।

साथै नुम बजारलाई सफा राखी आगामी सञ्चालन हुने महोत्सव तथा सम्मेलनलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न मकाल्ु बासीमा अनुरोध गरिएको छ ।

महोत्सवका अवसरमा भलिबल प्रतियोगिता, मकालु गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान, स्थानीय झाँकी प्रदर्शन, स्थानीय उत्पादनका स्टलहरु, साँस्कृतिक कार्यक्रम र साहित्यिक सम्मेलन गरिने भएको छ । कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहनेछ । लोक दोहोरी गायक राजु परियार, आशा विसी, गिता योञ्जन, फुलन्देकी आमा (उमेश राई) लगायत स्थानीय कलाकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

गत वर्ष पनि गाउँपालिकाको आयोजना तथा द नर्थ वरुण युथ क्लवको संयोजनमा महोत्सव सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्ने संस्था र व्यक्तिहरु, हिमाल आरोहीहरुलाई सम्मान गरिएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search