काठमाण्डौ । काठमाण्डौ घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैर आवासीय नेपालीबाट देशले धेरै ठूलो आशा गरेको बताउनुभयो । उहाँले आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारले एनआरएन नागरिकता प्रदान गर्न शुरू गरेको भए पनि हालसम्म त्यसको पूर्ण कार्यान्वयन हुन नसक्दा दुःख लागेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा।प्रकाशशरण महतले एनआरएनसँग रहेको ज्ञान र सीप देशको उन्नतिमा प्रयोग गर्न सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
एनआरएनएका पूर्वअध्यक्षद्वय देवमान हिराचन र भवन भट्ट, एनआरएन अभियन्ता, आरके शर्मा, डा।केशव पौडेललगायतलले नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना दिनुभएको थियो । त्यस अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले सबै पक्षलाई सहमतिमा आउन आग्रह गर्नुभयो ।
महाधिवेशनले गैरआवासीय नेपालीले गैर आवासीय नेपाली नागरिकतासम्बन्धी संविधानले व्यवस्था गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी शीघ्र विद्यमान ऐन कानूनमा संशोधन गर्न सरकारलाई अनुरोध गरेको छ । विदेशमा बस्ने नेपालीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गर्नसमेत आग्रह गरेको छ ।
त्यसैगरी मध्यपूर्वलगायतका मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्या र त्यहाँ अज्ञानतावश जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।