दार्चुलाको अपी हिमाल क्षेत्रबाट यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी लेकतिर लागे

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकाका शिक्षक-विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द गरिएका छन् । यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिका क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थी लेक गएपछि विद्यालय बन्द गरिएका हुन् ।

अपी गाउँपालिकाको शिक्षा शाखाका अधिकृत वीरेन्द्रसिंह साउदले यार्सा सङ्कलनको याम शुरू भएकाले गएको जेठ ४ गतेदेखि पालिकाभरिका विद्यालय २० दिनका लागि बन्द गरिएको जानकारी दिनुभयो ।

बर्खे बिदाबाट मिलान गर्नेगरी अहिले विद्यालय बन्द गरिएका र यही जेठ २४ गते खुला हुने उहाँले जानकारी दिनुभयो । जडीबुटी सङ्कलन गर्ने याम भएकाले हरेक वर्ष यो बेला धेरैजसो विद्यालय बन्द हुने गरेका छन् ।

गाउँपालिकाभरिका २४ सामुदायिक विद्यालयमा अध्यननरत धेरैजसो विद्यार्थी यार्सालगायत अन्य जडीबुटी सङ्कलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् ।

अपी हिमाल गाउँपालिका-२ का स्थानीय गगनसिंह लोथ्यालले यार्सागुम्बा सङ्कलन गरेर छोराछोरी पढाउन र अन्य आवश्यकता पूर्तिका लागि आर्थिक जोहो गर्न हरेक वर्ष लेक जानुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । यार्सागुम्बा नै वर्षभरिको मुख्य कमाइको स्रोत रहेको उहाँको भनाइ छ ।

अन्न उत्पादन कम हुने भएकाले स्थानीयवासीले जेठ–असारमा सङ्कलन गरिएको जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन् । त्यसका लागि कतिपय स्थानीयवासी घरमा ताल्चा लगाएर लेकतिर जाने गरेका छन् ।

उत्पादन हुने अन्नबाली तीन महिना पनि राम्रोसँग खान नपुग्ने भएकाले आफूहरूले जडीबुटी सङ्कलनको काम गर्नुपरेको लोथ्याल बताउनुहुन्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search