जापानले साना तथा मध्यम व्यवसायलाई १५ अर्ब ५० करोड डलर राहत प्रदान गर्ने

जापान सरकारले अमेरिकाले लगाएको आयात करको असरबाट जोगाउन साना तथा मध्यम व्यवसायहरूलाई १५ अर्ब ५० करोड डलर बराबरको राहत कार्यक्रम सार्वजनिक गरेको छ ।

अमेरिकाले जापानसहित धेरै देशका सामानहरूमा १० प्रतिशतको आधारभूत आयात कर तथा गाडी, फलाम र आल्मुनियममा अझै बढी दरको कर लगाएको छ जसको प्रत्यक्ष असर जापानी व्यवसायहरूमा परेको छ ।

सरकारले साना व्यवसायहरूलाई सहज ऋण, ऋण शर्तहरूमा सहुलियत तथा सरकारी ऋण संस्थामार्फत आर्थिक सहायता प्रदान गर्ने जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले लेखेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको मार्च महिनामा जापानका सामानहरूमा २४ प्रतिशत बराबरको ‘प्रतिशोधात्मक’ कर घोषणा गर्नुभएको थियो तर त्यो निर्णय जुलाई महिनाको शुरूसम्मका लागि रोकिएको छ । जापानले ती करहरू पूर्णरूपमा हटाउन आग्रह गरिरहेको छ । त्यसका लागि सरकारी प्रतिनिधि चाँडै चौथो चरणको वार्ताका लागि अमेरिका जाँदैछन् ।

प्रधानमन्त्री शिगेरु इशिबाले आउँदो महिना क्यानडामा हुने सात राष्ट्रको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गरेर सहमति जुटाउने सङ्केत दिनुभएको खबरमा उल्लेख छ ।

यस्तै जापान सरकारले बढ्दो बिजुली तथा ग्यासको मूल्यका कारण नागरिकमा परेको असर कम गर्न आउँदो तीन महिनाका लागि दुई खर्ब ८८ अर्ब येन बराबरको सहयोग प्रदान गर्ने जनाएको छ ।

साथै सरकारले अस्पताल, विद्यालय तथा साना उद्योगहरूलाई थप विशेष सहायता प्रदान गर्ने योजना पनि अघि सारेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search