पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन

अर्घाखाँची । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् समाजवादी चिन्तक ढुण्डीराज शास्त्री (पौडेल) को निधन भएको छ । काठमाण्डौको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजे उहाँको ९० वर्षको उमेरमा निधन भएको हो । छोराहरू देशबाहिर रहेकाले उहाँहरू आएपछि श्रद्धाञ्जलीसहित अन्तिम संस्कार गरिने उहाँका परिवारिक सदस्य अशोक पौडेलले जानकारी दिनुभयो ।

अर्घाखाँचीको साविक किमडाँडा पञ्चायतको–८ अहिले भूमिकास्थान नगरपालिका वडा नम्बर ८ निमडाँडामा बुबा खेमराज पौडेल र आमा सावित्रा पौडेलको जेठो सन्तानको रूपमा १९९३ सालमा शास्त्रीको जन्म भएको थियो । बनारसमा २०१० सालमा पढ्दादेखि नै उहाँ नेपाली कांग्रेसको राजनीतिको सम्पर्कमा आइसक्नुभएको थियो । त्यसपछि उहाँ पढाइ सकेर घर आएपछि भूमिगत रूपमा नेपाली कांग्रेसको सङ्गठन विस्तारमा लाग्नुभएको थियो ।

शास्त्रीले २०१४ सालमा नेपाली कांग्रेसले शुरू गरेको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँची जिल्लाको अगुवाइ गर्दै पाल्पा तानसेनमा भाग लिनुभएको थियो । २०१५ सालको आमचुनावमा सक्रिय रूपमा लाग्नुभएका उहाँले २०१७ साल पुस १ गते राजा महेन्द्रद्वारा संसद् भङ्ग गरी नेताहरूलाई जेल हालेको समयमा गुल्मी–अर्घाखाँचीका लडाकु युवाहरूलाई क्रान्तिमा संलग्न गराउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।

२०१७ सालपछि शास्त्रीले भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । त्यो समय उहाँले भारतको गोरखपुर महाविद्यालयमा प्राध्यापकका रूपमा समेत काम गर्नुभयो । उहाँले नेपालमा प्रजातन्त्र ल्याउनका निम्ति विभिन्न पर्चा, पम्प्लेट, पत्रिका छापेर नेपाल पठाउने गर्नुहुन्थ्यो ।

बीपी कोइरालाका कट्टर अनुयायी ढुण्डीराज शास्त्री समाजवादका व्याख्याता हुनुहुन्छ । उहाँबाट पार्टीको सदस्यता लिएका नेतारकार्यकर्ता अझै पनि पार्टीप्रति प्रतिबद्ध छन् । उहाँले २०३६ र २०४६ सालको जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेल्नुभएको कांग्रेसजन बताउँछन् ।

२०४६ सालको जनआन्दोलनबाट प्राप्त बहुदलीय प्रजातन्त्र पुनस्थापना भएपछि २०४८ सालमा भएको चुनावमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट सांसदमा भारी मतले विजयी भएपछि शास्त्री उद्योगमन्त्री बन्नुभएको थियो । २०५१ सालको मध्यावधि चुनावमा विजयी हुनुभएका उहाँ त्यसपछि पार्टीले बारम्बार समानुपातिक सांसद बनाउन खोज्दा पनि अस्वीकार गर्नुभएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search