काठमाण्डौ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियडु का विषयमा भएको चलखेलबारे छानबिन हुनुपर्ने बताउनुभएको छ । समितिबाट सर्वसम्मत पास भएको सङ्घीय निजामती सेवा विधेयकमा एउटा दफा नै थपिएको र यस्तो गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने उहाँले बताउनुभएको छ ।
आज सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै सभापति खतिवडाले समितिबाट जे पास भएको थियो, त्यसको ठीकमुनि एउटा दफा थपिएर सदनमा गएको भेटिएको बताउनुभयो । उहाँले यो गल्ती कोबाट भएको हो, त्यसलाई कानूनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । कतिपय सांसदले समितिका सभापति खतिवडा र सचिवलाई जिम्मेवार रहेको भन्दै कारबाहीको माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति खतिवडाको राजीनामा मागेको छ ।
यस्तै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले छानबिन गर्नुपर्ने माग गरेका छन् । खतिवडाले आफू दोषी देखिए कारबाही भोग्न तयार रहेको बताउनुभएको छ । यसमा छानबिनका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको पत्रकारसँग खतिवडाले बताउनुभएको छ । समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कूटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधिसभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको छ ।
एमालेका सांसद पदम गिरीले कुलिङ पिरियडमा भएको शब्दको चलखेलबारे जिम्मेवार व्यक्तिले राजीनामा दिनुपर्ने बताउनुभएको छ । त्यस्तै माओवादीका उपमहासचिव जनार्दन शर्माले निजामती विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेलमाथि अनुसन्धान हुनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रकै अर्का सांसद माधव सापकोटाले कुलिङ पिरियडमा भएको शब्दको चलखेल सुविचारित तरिकाले गरिएको षड्यन्त्र भएको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गर्नुभएको छ । यसैबीच समितिका सभापति खतिवडाले आजको बैठक स्थगित गरिएको जानकारी दिनुभएको छ ।











