सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सगरमाथा प्रवेशद्वार लुक्लामा रहेको तेञ्जिङ–हिलारी विमानस्थलबाट हुने उडान तीन दिनदेखि ठप्प छ । लगातार सिमसिमे वर्षा र बाक्लो कुहिरोका कारण विमान र हेलिकप्टर दुवै उड्न नसकेका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक (एटिसी) नवराज कटुवालले बताउनुभयो ।
सामान्यतया दैनिक ६० उडान हुने लुक्लामा अहिले एकपटक पनि उडान भएको छैन । हवाई सेवा ठप्प हुँदा झण्डै १५ सय पर्यटक लुक्लामै रोकिएका छन् । होटल र गेस्टहाउसहरू सबै भरिएका छन्, नयाँ पाहुनालाई कोठा पाउन कठिन भएको छ । कसैलाई त होटलको लबीमै बसालिएको स्थानीय तोयाकुमार श्रेष्ठले बताउनुभयो ।
नाम्चे बजारमा पनि झन्डै १२ सय पर्यटक रोकिएका छन् । लगातारको झरी र माथिल्लो क्षेत्रमा परेको हिउँका कारण नाम्चेका होटल भरिभराउ छन् । चार दिनदेखि घाम नलाग्दा पर्यटकहरू पुस्तक पढ्दै र सङ्गीत सुन्दै समय बिताइरहेका छन् ।
लमार्ग हुँदै सल्लेरी भएर काठमाण्डौ फर्किने प्रयास गरे पनि बाटो पनि सहज छैन । सोलुखुम्बु–काठमाण्डौ सडकखण्डमा पहिरो र हिलोका कारण आवागमन अवरुद्ध छ । काभ्रे र सिन्धुली क्षेत्रमा ठूलो वर्षाले गाडी घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था आएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पनि पर्ने क्रम अझै रोकिएको छैन । अर्का दुई–तीन दिन अझै वर्षा र हिमपात हुने सम्भावना छ । त्यसपछि मात्र मौसम बिस्तारै खुल्ने अनुमान गरिएको छ ।











