पहिरोले सडक भाँसिएपछि हिजाे बिहानदेखि अवरुद्ध जोमसोम—कागबेनी सडक भर्खरै सञ्चालनमा । जिल्ला प्रशासन कार्यालयको पहलमा डोजरले सडक मर्मत गरेपछि जोमसोम—कागबेनी सडक सञ्चालनमा आएको हो । तस्बिरः सुन्दरकुमार थकाली/रासस
काठमाण्डाै – हिजोदेखि अवरुद्ध बीपी राजमार्ग अझै खुलेको छैन । निरन्तर लेदो बगिरहेकाले अबरोध हटाएर कहिले सडक सञ्चालनमा ल्याउन सकिन्छ भन्नेबारे अनिश्चित बनेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो । लेदो बग्ने क्रम रोकिएमा त्यसको दुई घण्टामा सडक सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । राजमार्गको चारसय वेँसी, पिन्थली र मङ्गलटार क्षेत्रमा लेदो झरेको छ ।
यस्तै वर्षाका कारण अस्ति बिहिवारदेखि अवरुद्ध बनेको मेची राजमार्ग आज पनि बन्द छ । इलाम नगरपालिका वडा नमबर ९ मा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न प्रयास भइरहे पनि भासिने क्रम नरोकिएको सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले जनाकारी दिनुभयो । मेची राजमार्ग अवरुद्ध हुँदा इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका यात्री प्रभावित भएका छन् ।
यसैबीच जोमसोम–कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ । विभिन्न ठाउँमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको हो । अब जोमसोमबाट कागबेनी र मुक्तिनाथ पुग्न सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।











