वर्षाका कारण अवरुद्ध मुख्य राजमार्गहरू सञ्चालनमा

काठमाण्डाै । वर्षा र हिमपातका कारण अवरुद्ध रहेका मुख्य सडक सञ्चालनमा आएका छन् । पहिरो पन्छाउनुका साथै डाइभर्सन निर्माण गरेपछि बीपी राजमार्ग सञ्चालनमा आएको छ । पहिरो र लेदोको कारण बीपी राजमार्ग तीन दिनदेखि अवरुद्ध थियो । पूर्वबाट काठमाण्डौ उपत्यकालाई जोड्ने भएकोले बीपी राजमार्गमा यात्रुको चाप रहन्छ ।

यस्तै पहिरोले अवरुद्ध मेची राजमार्ग, मध्यपहाडी राजमार्ग र तमोर करिडोर सडक पनि सञ्चालनमा आएका छन् । हेटौँडा–काठमाण्डाै जोड्ने कान्ति लोकपथ सडक पनि सञ्चालनमा आएको छ । पाँच दिनदेखिको लगातार वर्षाका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको अन्तर्राष्ट्रिय राजमार्ग पुनः सञ्चालनका लागि मर्मत शुरू भएको छ ।

यस्तै हिमपातका कारण अवरुद्ध तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । हिउँले पदमार्ग पुरिएपछि तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरूको तालिका बिग्रिएको छ । नेपाल प्रहरीका अनुसार अहिले सङ्खुवासभामा कोशी राजमार्ग, मुस्ताङको जोमसोम–कोरोला सडकलगायत पूर्णरूपमा अवरुद्ध रहेका छन् ।

यसैबीच आज पनि देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम बदली भएको छ । आजदेखि घाम लाग्ने अनुमान रहे पनि बादल हटिसकेको छैन । सिन्धुपाल्चोक र पर्वतका केही ठाउँमा सामान्य वर्षा पनि भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search