जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि होम सेन्टरमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सीटीइभीटीको १४ हजार ७ सय वटा उत्तरपुस्तिका जलेको थियो ।

सीटीइभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार जलेका तथा नष्ट भएका उत्तरपुस्तिकाहरुको सम्बन्धित शिक्षण संस्थामा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरिएको छ । परीक्षा ४ मंसिरबाट हुने उनले बताए । ‘जलेर नष्ट भएकाको मात्र होम सेन्टरमा परीक्षा हुने हो । अरु परीक्षा केन्द्रमै हुन्छ,’ उनले भने ।

सीटीईभीटीको कोशी र बागमती प्रदेश अन्तर्गतका डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको थियो । प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएको हो ।

कोशी प्रदेशका ५ वटा परीक्षा केन्द्रमा २४ वटा शिक्षण संस्थाको र बागमती प्रदेशका १८ वटा परीक्षा केन्द्रमा ८० वटा शिक्षण संस्थाको उत्तरपुस्तिका जलेर नष्ट भएको छ । केही उत्तरपुस्तिकामा आंशिक क्षति पुगेको छ । कोशीका पाँच केन्द्रको उत्तर पुस्तिकामा नियमिततर्फ १ हजार ९३७ वटा र आंशिकतर्फ १ हजार ६५० गरी ३ हजार ५८७ वटा उत्तर पुस्तिका जलेको छ ।

बागमतीका १८ वटा केन्द्रको ११ हजार २०३ वटा गरी जम्मा १४ हजार ७९० वटा उत्तरपुस्तिका जलेको छ । तर यो विद्यार्थी संख्या भने होइन । प्रवक्ता आचार्यका अनुसार, एउटै विद्यार्थीको एकभन्दा बढी उत्तरपुस्तिका जलेको छ ।

प्रवक्ता आचार्यका अनुसार अन्य स्थगित परीक्षाहरू मिति कात्तिक ३० देखि मंसिर ३ गतेसम्म पूर्व निर्धारित केन्द्रमा परीक्षा संचालन गरिने छ ।

त्रिभुवन विश्वविद्यालयको ६५२ जना विद्यार्थीको उत्तर पुस्तिका जलेको छ । त्रिविको स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो । परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीका अनुसार तीन वटा परीक्षा केन्द्रको उत्तरपुस्तिका जलेको छ ।

जलेकाको परीक्षा आगामी मंसिर ४ र ५ गते परीक्षा केन्द्रमा सञ्चालन हुने त्रिविले जनाएको छ । त्रिविले भने होम सेन्टरको व्यवस्था गरेको छैन । अरु स्थगित भएको परीक्षा भने कात्तिक २४ गतेदेखि सञ्चालन हुने परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार जलेर नष्ट भएकाको पुन: परीक्षा गर्न १ करोड बढी खर्च हुने छ । मन्त्री महावीर पुनले जेनजी आन्दोलनको क्रममा उत्तरपुस्तिका जलेसँगै पुन: परीक्षा गर्न खर्चिलो हुने बताएका हुन् । मन्त्री पुनका अनुसार आन्दोलनमा उत्तरपुस्तिका जलेकाले फेरि परीक्षा गर्न १ करोड ७५ लाख खर्च हुने छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search