काठमाण्डाै । मतदाता नामावली सङ्कलनमा चाप बढेको र अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएको गुनासोपछि प्रधानमन्त्री सुशीला कार्कीले सहजीकरणका लागि निर्वाचन आयोगसँग आग्रह गर्नुभएको छ ।
सेवाग्राहीले लामो समय कुर्नुपरेको, प्रि–इनरोलमेन्ट फारममा मतदान केन्द्र छनोट गर्न नसकेको, नागरिकता नम्बर प्रविष्ट गरे पनि नामावली दर्ता गर्न प्राविधिक समस्या आउने गरेको लगायत गुनासो बढेपछि प्रधानमन्त्री कार्कीले समस्याको पहिचान गरी समाधान गर्न आयोगसँग आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा मतदान गर्ने नयाँ मतदाताले यही कात्तिक ३० गतेभित्र नामावली दर्ता गराइसक्नुपर्ने व्यवस्था छ । प्रधानमन्त्री कार्कीले कात्तिक ३० गतेभित्र नामावली सङ्कलन कार्य नसकिएमा मिति थप गर्नसमेत भन्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले मतदाता नामावली दर्ता प्रक्रियालाई आवश्यक सहजीकरण गरिदिन गृह मन्त्रालयलाई निर्देशन पनि दिनुभएको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनका लागि तोकेको समयसीमा नजिकिँदै गर्दा मतदाता नामावलीका लागि नाम दर्ता गराउने, फोटो खिचाउनेहरूको चाप बढेको छ ।











