काठमाण्डौ । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा बसेका छन् । गङ्गाप्रसादको ६ जनाको परिवार उहाँका दाजु दुर्गा बेघाको घरमा बसेको छ । त्यही ठाउँका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि परिवारका ६ जना विस्थापित भएका ताप्लेजुङ प्रहरीले जनाएको छ ।
बाढी पहिरोका कारण कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङ डाँडाका रबिन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरुङ र डम्बरबहादुर गुरुङ, एकराते टोलका रत्नमान राई, लछुमान राई, राजेश राई, कमलबहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगरडाँडा टोलका याम मगर, पूर्णकुमार मगर र सुजन मगरको घर जोखिममा छ ।
बाढीले लामिटारबाट चाम्लिङ डाँडा जोडने झोलुङ्गे पुल र याङवरक–२ दोभानेको झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । बाढीले निर्माणाधीन दुई सडकका पुल बगाएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ दोभानेमा मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो सडक पुल बाढीले बगाएको हो । यहाँ निर्माणाधीन पुलका साथै सडक र डाइभर्सनसमेत बगाएका कारण यातायात पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलका संरचनासमेत बाढीले बगाएको छ ।
बाढी र पहिरोले याङवरक–२ मेवाखोलामा रहेको हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित इंवाखोलामा रहेको इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रका पर्खालमा क्षति पुगेको छ । यस्तै पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित काबेली खोला रहेको अरुण काबेली जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । बाढी र पहिरोले अलैँची बगान तथा खेतीयोग्य जमिनमा खानेपानी योजनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।











