काठमाण्डाै । बाजुराको हिमाली युवा क्लबले कर्णाली कोरिडोर पुनः बन्द गरेको छ । गएको शुक्रवार प्रहरी, प्रशासन र राजनीतिक दलहरूसँग सहमति भएपछि करिडोर खुलाएको क्लबले आज अर्को सूचना निकालेर आजदेखि अनिश्चितकालका लागि कर्णाली कोरिडोर बन्द गरेको जानकारी गराएको हो ।
गाउँपालिकामा भएको लुटपाट र कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको क्लबको आरोप छ । शुक्रवार भएको २४ घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टै स्थानीयवासीका घरहरूमा लुटपाट र तोडफोडका घटना थपिएकाले बाध्य भएर बन्दको आह्वान गरिएको क्लबले जनाएको छ ।
क्लबका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका केही व्यक्तिहरूले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ को लाम्पाटाका व्यक्तिका घरमा लुटपाट, तोडफोड तथा कुटपिट गरेका छन् । सीमा क्षेत्रमा बाजुरातर्फ प्रहरी चौकी स्थापना गर्ने तयारीपछि दुई जिल्लाका बासिन्दाबीच विवाद बढेको हो ।
यसैबीच गएको हप्तादेखि तनावग्रस्त बनेको रानीसैन, लाम्पाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
हिजो बाजुराबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २५ सुरक्षाकर्मीको टोली त्यसतर्फ परिचालन भएको हो । सदरमुकाम मार्तडीबाट लाम्पाटा पुग्न एक दिनको सडक यातायात र कम्तीमा दुई दिनको पैदल यात्रा गर्नुपर्छ ।











