काठमाण्डौ । इरान र इजरायलले एक अर्कामाथिको आक्रमण अस्थायी रूपमा रोके पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य रूपमा बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि इरान र इजरायलले प्रत्यक्ष सैन्य कारबाही रोक्ने घोषणा गरेका थिए । तर दुवै पक्षले आवश्यक परे पुनः जवाफी आक्रमण गर्न सकिने चेतावनी दिएका छन् । जसका कारण लगानीकर्ताहरू पूर्ण रूपमा आश्वस्त हुन सकेका छैनन् ।
विश्लेषकहरूले प्रत्यक्ष आक्रमण रोकिएकाले केही राहतको अवस्था सिर्जना भए पनि युद्धविराम दीर्घकालीन हुनेमा बजार विश्वस्त हुन नसकेको बताएका छन् । अहिलेको मुख्य प्रश्न युद्धविराम दीर्घकालीन शान्तिमा परिणत हुन्छ कि केवल अस्थायी विश्राम मात्र हो भन्ने रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
मध्यपूर्वको सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले आउँदा दिनमा पनि तेल बजारमा उतारचढाव जारी रहने सम्भावना छ ।











