काठमाण्डाै । जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीहरूमध्ये अझै ५ हजार १३ जना फरार रहेका गृह मन्त्रालयले जनाएको छ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले भागेका कैदीबन्दी बारेमा जानकारी गराउनुभएको हो । गृहमन्त्री अर्यालका अनुसार १४ हजार ५ सय ५४ कैदीबन्दी भागेकामा ९ हजार ४ सय ४१ जनालाई फिर्ता गरिएकाे छ । फरार भएकाहरूको सूची सार्वजनिक गरेर खोजी भइरहेको छ ।
यस्तै जेनजी आन्दाेलनमा झन्डै १२ सय थान हतियार लुटिएकामा ७ सय १८ थान फिर्ता गरेको गृहमन्त्री अर्यालले बताउनुभयो । आन्दोलनमा ४ सय ६५ प्रहरी युनिटमा क्षति पुगेकोमा ४ सय ४८ प्रहरी युनिट सञ्चालनमा आइसकेका छन् । यसबीचमा ४ सय २९ जनालाई प्रहरीले पक्राउ गरेको छ भने आपराधिक गतिविधिमा संलग्न देखिएको भन्दै १ सय ६८ जनामाथि मुद्दा लगाएको छ ।
गृहमन्त्री अर्यालले फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको बताउँदै सरकार ती चुनौती परास्त गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो ।











