काठमाण्डौ । मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण विश्व व्यापार र आपूर्ति प्रणालीमाथि दबाब बढिरहेका बेला चीनको निर्यात मे महिनामा अपेक्षाभन्दा बलियो रूपमा बढेको छ ।
सरकारी तथ्याङ्कअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट हुने निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा १९.४ प्रतिशतले बढेको छ, जसले बजारको अनुमानलाई समेत उछिनेको छ । चीनको भन्सार प्रशासन (जीएसी) का अनुसार मे महिनाको निर्यात वृद्धिदर अप्रिलको १४.१ प्रतिशतबाट थप उकालो लाग्दै १९.४ प्रतिशत पुगेको हो ।
अर्थशास्त्रीहरूले ब्लुमबर्गमार्फत गरिएको सर्वेक्षणमा १५ प्रतिशत वृद्धि हुने अनुमान गरेका थिए । वास्तविक तथ्याङ्क त्यो अनुमानभन्दा उल्लेख्य रूपमा माथि देखिएको छ । मे महिनामा आयात पनि वार्षिक आधारमा २७.४ प्रतिशतले बढेको छ । यो वृद्धि दर पनि ब्लुमबर्गको २६ प्रतिशतको पूर्वानुमानभन्दा उच्च रहेको छ ।
आयात र निर्यात दुवै क्षेत्रमा देखिएको मजबुत विस्तारले बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्त्वपूर्ण सहारा बनेको सङ्केत गरेको छ । विशेष गरी संयुक्त राज्य अमेरिकातर्फको निर्यात उल्लेखनीय रूपमा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणका क्रममा व्यापार सम्बन्ध प्रमुख एजेन्डाका रूपमा रहेको अवस्थामा चीनको अमेरिकातर्फको निर्यात एक वर्षको अवधिमा ३५.४ प्रतिशतले वृद्धि भएको जीएसीले जनाएको छ ।
चीनले लामो समयदेखि उत्पादन र निर्यातमा आधारित वृद्धिको मोडललाई बिस्तारै घरेलु उपभोगमा आधारित बनाउने प्रयास गरिरहेको छ । तर अपेक्षाअनुसार आन्तरिक माग बलियो बन्न नसक्दा बाह्य व्यापार अझै पनि अर्थतन्त्रको प्रमुख आधार बनेको छ ।











