बेलायतको ग्लस्टरशरमा रहेको अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको आरएएफ फेयरफोर्ड हवाई अखडातर्फ जाँदै गरेका पाँच जनालाई प्रहरीले पक्राउन गरेको छ ।
प्रहरीले पक्राउ परेकामाथि विस्फोटक पदार्थसम्बन्धी अपराध र आतङ्कवादी कार्यको तयारी गरेको आशङ्कामा अनुसन्धान अघि बढाएको बीबीसीले जनाएको छ ।
हिजो स्थानीय समयअनुसार विहान पौने एक बजेतिर प्रहरीले ठूलो घटनाको घोषणा गर्दै हवाई अखडानजिकको वेलफड गाउँ वरपरका दर्जनौँ घर खाली गराएको थियो । पक्राउ परेकाहरूलाई शुरुमा विस्फोटक पदार्थसम्बन्धी अपराधको आशङ्कामा नियन्त्रणमा लिइएको थियो । पछि उनीहरूलाई आतङ्कवादी कार्यको तयारी गरेको आशङ्कामा पुनः पक्राउ गरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
आकाशबाट लिइएका तस्बिरमा जङ्गल क्षेत्रमा रोकिएका केही सेता भ्यान र एउटा रोबोट देखिए पनि रोबोट प्रयोग गरिएको विषयमा प्रहरीले पुष्टि गरेको छैन । घटनाको अनुसन्धान बेलायतको काउन्टर टेरोरिजम प्रहरीले नेतृत्व गरिरहेको छ । ग्लस्टरशर प्रहरीले घटनालाई नियन्त्रणमा रहेको विश्वास व्यक्त गरेको छ ।
पक्राउ परेका पाँचै जना पुरुष प्रहरी हिरासतमा छन् । प्रहरीले घटनामा अरू व्यक्ति संलग्न छन् कि छैनन् भन्नेबारे पनि अनुसन्धान गरिरहेको छ । आरएएफ फेयरफोर्डमा अमेरिकी सेनाको लामो समयदेखि उपस्थिति रहँदै आएको छ । पछिल्लो समय यो क्षेत्र अमेरिकी सैन्य गतिविधिका लागि पनि प्रयोग हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्