काठमाण्डौ । सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा हिजो बेलुका जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अरु सात जना घाइते भएका छन् । सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेको भित्री कच्ची सडकखण्डमा श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जीप सडकबाट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटना लगत्तै १० जना घाइते भएकोमा उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको र घाइतेमध्ये तीन जनाको उपचारका क्रममा ज्यान गएको हो ।
ज्यान गुमाउनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका प्रहरीको भनाइ छ । घाइतेको सल्यान, दाङ र नेपालगञ्जमा उपचार भैरहेको छ ।
जीप चालक सिद्ध कुमाख गाउँपालिका–२ का ३८ वर्षीय तिलक चलाउनेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पानी परेका कारण उकालोमा चिप्लिएर जीप सडकबाट खसेको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्