काठमाण्डौ । त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ । रिद्धिसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरको बर्न अस्पतालमा आज बिहान निधन भएको हो ।
ज्यान गुमाउनेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी दिलीप घिमिरे जानकारी दिनुभयो ।
मृतक चालक गएको वर्ष कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा संलग्न रही फरार रहेका प्रहरीले जनाएको छ । तामाङले सुनिल तामाङको नाममा जारी भएको गाडी चालक अनुमति पत्र प्रयोग गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
तीन महिनाअघि काठमाण्डौको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत मृतक चालक तामाङले दाबा तामाङको नाममा जारी भएको चालक अनुमति पत्र प्रयोग गरेको प्रहरीले जनाएको छ । त्रिपुरेश्वर घटनामा पनि दाबा लामाको नाममा रहेको गाडी चालक अनुमति पत्र प्रयोग गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा मृतक चाकलले दाबा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्