काठमाण्डाै । राष्ट्रियसभाका सांसदहरूले बलात्कार तथा हत्या, महिला हिंसा, सर्वोच्च अदालतमा भएको तोडफोड तथा बाढीका कारण प्रभावित नागरिकको अवस्थालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको बैठककाे शून्य समयमा सांसद पूजा चौधरीले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्यामा संलग्न अभियुक्तमध्ये केहीलाई बाल सुधारगृह पठाइएको र अन्यलाई धरौटी तथा तारेखमा छाडिएको विषयमा प्रश्न उठाउनुभयो । क्रूर अपराधमा संलग्न व्यक्तिलाई सामान्य धरौटी तथा तारेखमा छाड्दा समाजमा गलत सन्देश जाने भन्दै उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो । अपराधको प्रकृतिअनुसार कडा सजाय सुनिश्चित गर्न आवश्यक परे कानून संशोधन गर्नुपर्ने उहाँको भनाइ छ ।
सांसद रुक्मिणी कोइरालाले नवलपरासीमा शेरबहादुर विकले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । हरितालिका तीजको व्रत बसेकी श्रीमतीको हत्या भएको उल्लेख गर्दै उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा सजाय दिन माग गर्नुभयो । कोइरालाले कैलालीको धनगढीमा प्रहरी जवानमाथि महिलालाई बलात्कार गरेको आरोप तथा तीन वर्षीया बालिकामाथि भएको बलात्कार र हत्याको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यस्ता घटनामा संलग्न व्यक्तिमाथि सरकारले के कारबाही गरिरहेको छ भन्ने प्रश्न उठाउनुभयो ।
सांसद विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोडफोड तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभयो । सर्वोच्च अदालतमा नियोजित तथा षड्यन्त्रपूर्ण ढङ्गबाट आक्रमण भएको दाबी गर्दै उहाँले घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले रसुवाका विभिन्न क्षेत्रमा बाढीका कारण सडक, पुल तथा बजारसम्मको आवागमन अवरुद्ध हुँदा स्थानीयवासी खाद्यान्न अभावको जोखिममा परेका विषय उठाउनुभयो । उहाँले प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टरमार्फत दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ताकपडा र औषधि पुर्याउन तथा पालिकासँग समन्वय गरी सडकमार्ग यथाशीघ्र सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्