काठमाण्डाै । नेपाल पत्रकार महासङ्घले रसुवाकाे भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन रहेका पत्रकार र पत्रकारका परिवारको खोजीलाई तीव्रता दिन आग्रह गरेको छ ।
कार्यक्रमका सिलसिलामा रसुवागढी नाका हुँदै चीनको तिब्बततर्फ जाने क्रममा रहनुभएका महासङ्घका पूर्व केन्द्रीय सदस्य एवम् नयाँपत्रिका दैनिकका पत्रकार टेकराज थामी हिजाे बिहानदेखि सम्पर्कविहीन हुनुभएको महासङ्घले जनाएको छ ।
यस्तै नुवाकोटको विदुर नगरपालिका–७ बाट पत्रकार निराजन पौडेलका बुबा, आमा, काका, काकी र बहिनीसहित ५ सदस्य सम्पर्कविहीन भएका महासङ्घका महासचिव रामप्रसाद दाहालले आज निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।
बाढी प्रभावित क्षेत्रमा विद्युतीय आपूर्ति बन्द भई सञ्चार सेवा अवरुद्ध हुँदा सञ्चारमाध्यम सञ्चालनमा असर पुगेकामा सञ्चार सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन महासङ्घकाे आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्