काठमाण्डौ । आज भदौ कृष्ण प्रतिपदा, गाईजात्रा पर्व मनाईंदैछ । भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको मानिन्छ ।
देशका विभिन्न शहरमा गाईजात्रा मनाउने गरिन्छ । काठमाण्डौ उपत्यकामा यसको विशेष रौनक हुने गर्छ । गाईजात्रा काठमाण्डौ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत नेवार समुदायको विशेष उपस्थिति रहेका जिल्ला र शहरमा मनाउने गरिन्छ ।
यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । तर यसवर्ष भोटेकोशी बाढीका कारण त्यस्ता कतिपय कार्यक्रम रोकिएको छ ।
घिन्ताघिसी नाचको प्रदर्शनसँगै भक्तपुरमा गाईजात्रा शुरु
भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व हिजोदेखि शुरु भएको छ । भक्तपुरको दरवारस्क्वायरको तलेजुबाट घिन्ताघिसी नाचको प्रदर्शन शुरु भएको हो । हरेक वर्ष जनै पूर्णिमाको दिन बेलुका भक्तपुरको तलेजुबाट घिन्ताघिसी नाच टोलटोलमा प्रदर्शन गर्ने गरिन्छ ।
हिजो तलेजुमा घिन्ताघिसी नाच निस्किए पछि टोलटोलमा अरु नाच पनि निस्किएको छ । गाईजात्राको दिन आज बिहानै भक्तपुरमा विशेष जात्रा शुरु भएको छ । जनै पूर्णिमाको दिनदेखि शुरु भई कृष्ण जन्माअष्टमीसम्म चल्ने गाईजात्रामा टोलटोलमा घिन्ताघिसीसहित विभिन्न नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्