समुद्री आँधी जापानतर्फ अघि बढ्दै गर्दा झण्डै ३ सय उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ । जापान एयरलाइन्सले १३५ र अल निप्पोन एयरवेजले १४० उडान रद्द गरेका छन् । टोकियो आसपासका नौ हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
टोकियो, चिबा, कानागावा र सिजुओका प्रिफेक्चरमा पहिरोको चेतावनी जारी गरिएको छ भने केही रेल सेवासमेत स्थगित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार आजसम्म हुने कुल वर्षाले सेप्टेम्बर महिनाको औसत वर्षा नाघ्न सक्ने र केही क्षेत्रमा कीर्तिमानी वर्षा हुन सक्ने सम्भावना छ ।
एजेन्सीले आँधी आउनुअघि नै वर्षा र हावाको गति बढ्ने चेतावनी दिएको थियो । विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार राजधानी र आसपासका क्षेत्रमा १६ लाखभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
आँधीका कारण चिबामा आयोजना भइरहेको ‘टोकियो गेम शो’ निर्धारित समयभन्दा अगाडि नै बन्द गरिएको छ । चिबामै आयोजना हुने भनिएको ठूलो खुला सङ्गीत महोत्सव र बेसबल खेल पनि रद्द भएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा लोकप्रिय पर्यटकीय स्थल कामाकुरा स्टेसन आसपासका सडक डुबानमा परेको देखिएको छ । कामाकुराका मेयर ताकासी मात्सुओले सडकमा पानी जमेकाले कारमा यात्रा गर्नु जोखिमपूर्ण रहेको बताउनुभएको छ ।
टोकियो नजिकैको कात्सुउरा सहरबाट करिब १३० किलोमिटर दक्षिणतर्फ रहेको डुजुआनले प्रतिघण्टा करिब १४४ किलोमिटरको गतिमा हावा चलेको थियो ।
प्रतिक्रिया दिनुहोस्