भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका संस्थापक अभिजीत दिप्केसहित तीन जना नेता आज रिहा भएका छन् ।
नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनिएको बृहत् प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिइएको एक दिनपछि रिहा गरिएको हो ।
कक्रोच जनता पार्टी (सीजेपी) की मुख्य कानूनी सल्लाहकार रत्ना सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले दिप्केसहित ३ जनालाई १ वर्षसम्म शान्ति भङ्ग नगर्ने शर्तमा रिहा गरेको हो ।
दिप्के र अन्य दुई नेतालाई मुम्बईबाट दिल्ली पुगेपछि विमानबाट ओर्लने क्रममा नियन्त्रणमा लिइएको थियो ।
सीजेपीका अनुसार शनिवार दिल्लीमा प्रस्तावित प्रदर्शन हुनुअघि नै हजारौँ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । देशव्यापी मतदाता नामावली पुनरावलोकनमा अनियमितता भएको आरोप लगाउँदै केही हप्तादेखि भारतमा विरोध चलिरहेको छ ।
प्रदर्शनकारीहरूले भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मतदाता नामावली पुनरावलोकनका क्रममा १३ करोड ३० लाखभन्दा धेरै नाम सूचीबाट हटाइएको छ ।
निर्वाचन अधिकारीहरूले दोहोरो नाम, मृत्यु भइसकेका व्यक्तिको विवरण तथा नक्कली प्रविष्टि हटाउन पुनरावलोकन गरिएको बताएका छन् । तर आलोचकहरूले यस प्रक्रियाबाट विशेषगरी मुस्लिम समुदायसहितका अल्पसङ्ख्यक प्रभावित भएको आरोप लगाएका छन् । उनीहरूले यसबाट प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) लाई राजनीतिक लाभ पुग्न सक्ने आशङ्कासमेत व्यक्त गरेका छन् । निर्वाचन आयोगले भने अनियमितता भएको आरोप अस्वीकार गर्दै आएको छ ।
शनिवारको धरपकडपछि विपक्षी दलका नेताहरूले सरकारको आलोचना गर्दै असहमतिको आवाज दबाउन खोजिएको आरोप लगाएका छन् ।
धरपकडका बाबजुद सीजेपी र विपक्षी नेता राहुल गान्धीले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । गान्धीले आफ्नो कांग्रेस पार्टी र देशका युवाहरू भोलि सोमवार ठूलो सङ्ख्यामा सडकमा आउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मोदी र उनको सरकारले जति धेरै दमन गर्छ, जेन–जी र विद्यार्थीहरूको आक्रोश त्यति नै बढ्दै जानेछ ।’
प्रतिक्रिया दिनुहोस्