Ads3

एकै खेलमा ५१ वटा रातो कार्ड, बन्यो विश्व कीर्तिमान

एकै खेलमा ५१ वटा रातो कार्ड, बन्यो विश्व कीर्तिमान

ब्राजिलमा भएको २० वर्षमुनिको फुटबल खेलमा रेफ्रीले ५१ जनालाई रातो कार्ड देखाएर विश्व कीर्तिमान कायम भएको छ ।

ब्राजिलको मिनास जेराइस राज्यको युथ च्याम्पियनशिप अन्तर्गत उबरल्यान्डिया र मामोरेबीचको खेलमा रेफ्रीले कीर्तिमानी सङ्ख्यामा रातो कार्ड देखाएका हुन् ।

रेफ्रीले मैदानभित्र र बाहिर रहेका ४३ जना खेलाडी तथा ८ जना कोचिङ स्टाफ गरी ५१ जनालाई रातो कार्ड दिएका बीबीसीले जनाएको छ । केही खेल प्रतिवेदनहरूका अनुसार २ बोर्ड सदस्यसहित रेड कार्ड पाउनेकाे सङ्ख्या ५३ सम्म पुगेको उल्लेख छ ।

खेलको दोस्रो हाफमा मामोरे टोली ३–१ ले अघि परेपछि उनका खेलाडी डाभीले विपक्षी टोलीको बेन्चतर्फ फर्केर गिज्याउने र जिस्काउने इसारा गरेका थिए । त्यसपछि उबेरल्यान्डियाका गोलकिपिङ कोच मैदानभित्र पसेर उनलाई धकेलेपछि दुवै टोलीका खेलाडी र स्टाफहरूबीच कुटाकुट तथा कुर्सी र स्ट्रेचरसमेत हानाहान भएको खबरमा उल्लेख छ ।

स्थिति नियन्त्रणबाहिर गएपछि रङ्गशाला र भौतिक संरचनाको क्षति रोक्न सैन्य पुलिसलाई नै मैदानमा बोलाउनुपरेको थियो । यसपछि खेल रद्द गरिएको थियो ।

यसअघि सन् २०११ मा अर्जेन्टिनाको पाँचौँ डिभिजनको खेलमा रेफ्रीले ३६ वटा रातो कार्ड देखाएका थिए ।

Muktinath

प्रतिक्रिया दिनुहोस्