काठमाण्डौ । रसुवाको भोटेकोशीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद् राहत टोली नेपाल आइपुगेको छ । ११ जनाको कोरियाली विपद् राहत टोली (केडीआरटी) नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ ।
कोरियन विमानमार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन् । उनीहरूले आजै बाढी प्रभावित क्षेत्र रसुवाको माथिल्लो त्रिशुली एकमा खोज तथा उद्धारका काम थाल्नेछन् ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ९ जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन् । कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एक साथ खोज तथा उद्धारमा खटिन लागेका हुन् ।
यसअघि नै खोज तथा उद्धारमा बिदेशबाट भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्