काठमाण्डाै । नेपालमा हरेक वर्ष ५० हजारभन्दा धेरै मानिस मस्तिष्कघात अर्थात ‘स्ट्रोक’ बाट प्रभावित हुने गरेका छन् ।
विश्व मस्तिष्कघात दिवसका अवसरमा नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष डा. राजु पौडेलले नेपालमा हरेक १० मिनेटमा एक जनामा मस्तिष्कघात हुने गरेको तथ्य जानकारी गराउनुभएको हो । मस्तिष्कघात भएकामध्ये १५ देखि २० प्रतिशतले अकालमा ज्यान गुमाउने गरेका छन् ।
डा. पौडेलका अनुसार मस्तिष्कको कुनै भागमा रक्तसञ्चार अवरुद्ध भई अक्सिजन र पोषक तत्त्वको कमी हुँदा मस्तिष्कघात हुने गर्छ ।
उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूम्रपान, निष्क्रिय जीवनशैली र असन्तुलित खानपान मस्तिष्कघातका मुख्य कारण हुन् ।
सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, बोली लरबराउनु, आँखाको ज्योति अचानक गुम्नु र हातखुट्टा लुलो हुनु यसका प्रमुख लक्षण हुन् । यस्ता लक्षण देखिएमा चार घण्टाभित्रै अस्पताल पुर्याउन सके बिरामीको प्रभावकारी उपचार सम्भव हुने चिकित्सकहरूको भनाइ छ ।
विश्वभर हरेक वर्ष १ करोड २० लाख मानिस मस्तिष्कघातबाट प्रभावित हुने गरेका छन् । नेपालजस्ता विकासोन्मुख देशमा यसको जोखिम उच्च रहेकाले सरकारले यसको रोकथाम र उपचारमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्