Ads3

एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्वतयारीमा जोड

एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्वतयारीमा जोड

कृत्रिम बुद्धिमत्ता अर्थात् (एआई) प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताउनुभएको छ ।

अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटकी महानिर्देशक अबिगेल ब्राडशाले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेका कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको र यसका लागि अस्ट्रेलियामा पूर्वचेतावनी प्रणाली विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

उहाँले सरकारी निकाय तथा व्यवसायले एआईलाई सुरक्षा क्षमता अभिवृद्धि गर्ने उपयोगी माध्यमका रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्दै सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकार्यलाई निरन्तर प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ब्राडशाले गुप्तचर तथा सुरक्षा निकायले एआई प्रविधि विकास गर्ने कम्पनीसँग सहकार्यलाई थप सुदृढ गर्दै सम्भावित जोखिमसम्बन्धी सूचना समयमै आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार यस्तो सहकार्यले सम्भावित सुरक्षा चुनौतीलाई समयमै बुझ्न तथा आवश्यक सावधानी अपनाउन सहयोग पुग्न सक्छ ।

ब्राडशाको यो धारणा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले एआई विकासको गति केही संयमित बनाउन तथा स्वतन्त्र मूल्यांकनकर्तामार्फत एआई नमुनाहरूको सुरक्षा मापदण्ड परीक्षण गर्न आग्रह गरेको केही दिनपछि आएको हो ।

अमोडेईको धारणालाई ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एक्सएआईका प्रमुख एलन मस्कले पनि समर्थन जनाउनुभएको छ । अस्ट्रेलियाको विज्ञान, प्रविधि तथा डिजिटल अर्थतन्त्र सहायक मन्त्री एन्ड्र्यु चार्लटनले एआईसम्बन्धी सुरक्षा मापदण्ड निर्धारणको जिम्मेवारी कुनै एक प्रविधि कम्पनी वा देशमा मात्र सीमित गर्नु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले एआईको सुरक्षित, जिम्मेवार तथा दिगो विकासका लागि सरकार, प्रविधि क्षेत्र, सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय समुदायबीच आपसी सम्मान, संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

पछिल्ला दिनमा एआई प्रविधिको विकाससँगै सम्भावित चुनौतीलाई समयमै पहिचान तथा व्यवस्थापन गर्न पूर्वतयारी, पारस्परिक सहयोग र समन्वयमा आधारित सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको देखाएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्