Ads3

गगनजीमा देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु : प्रचण्ड

गगनजीमा देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु : प्रचण्ड

काठमाण्डाै । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले कांग्रेस सभापति गगन थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभङ्ग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको उल्लेख गर्नुभयो ।

सभापति थापालाई बधाई दिँदै संयोजक दाहालले आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै उहाँको राजनीतिक यात्राप्रति आफू खुशी रहेको बताउनुभयो । ‘गगनजीलाई बधाई छ, गगनजीमा नेतृत्व गर्ने क्षमता छ, अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु’, उहाँले भन्नुभयो ।

संयोजक दाहालले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई जोडेर अघि बढ्न सभापति थापालाई आग्रह गर्नुभयो । पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा कांग्रेसको नयाँ नेतृत्व लाग्नुपर्ने उहाँको भनाइ थियो ।

सभापति थापा अब कांग्रेसको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने भन्दै संयोजक दाहालले त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताउनुभयो । उहाँले देशमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरू सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

संयोजक दाहालले आफू र कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबीच भएको शान्ति सम्झौताका केही काम अझै पूरा हुन बाँकी रहेको भन्दै त्यसलाई टुङ्ग्याउन वर्तमान सभापति थापा लाग्नुपर्ने बताउनुभयो ।

‘शान्ति सम्झौताका केही चिज अझै टुङ्ग्याउन बाँकी छ, यो टुङ्गिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ, यो पनि गगन थापाले पूरा गर्नुपर्नेछ’, उहाँले भन्नुभयो । देशको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने संयोजक दाहालको भनाइ थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्