काठमाण्डौ । आज चराहरूको विश्व बसाइसराइ दिवस, नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौँ माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड दिन्छ । नेपाल चरा पर्यटनका लागि निकै धनी देश हो । यहाँ अहिलेसम्म अभिलेख भएका ९०४ प्रजातिका चरामध्ये झण्डै १५० प्रजातिका हिउँदे र ६५ प्रजातिका ग्रीष्मकालीन आप्रवासी चरा रहेका छन् ।
हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ ‘कोलार्ड किङफिसर’ चरा धनुषामा अभिलेख भएको छ । जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनीबानीमा परिरहेको असरलाई प्रस्ट पार्छ । पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन् । बर्डलाइफ इन्टरनेश्नलको पछिल्लो प्रतिवेदनअनुसार विश्वभरका ४५ प्रतिशत आप्रवासी चराको सङ्ख्या घट्दो क्रममा छ भने ११ प्रतिशत लोप हुने जोखिममा छन् ।
नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका बिजुलीका तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान सङ्कुचित बन्दै गएका नेपाल पन्छी संरक्षण सङ्घका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईंले बताउनुभयो ।
गोसाईंका अनुसार जलपन्छीको आगमन घट्नु जैविक विविधताका लागि खतराको घण्टी हो । त्यसैले विकास निर्माणका पूर्वाधार बनाउँदा चराका उडान मार्ग र वासस्थानलाई जोगाउन क्षेत्रीय सहकार्य र सरकारी तहबाटै ठोस नीतिको खाँचो देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्