संखुवासभा । स्थानीय सरोकारवालाहरूलाई वनसम्बन्धी विद्यमान ऐन, कानुन तथा सामुदायिक वनको स्थापना, सञ्चालन र व्यवस्थापन प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले पाँचखपन नगरपालिकामा आयोजित दुईदिने पालिकास्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, कोशी प्रदेश महासंघ सुनसरीको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय महासंघ पाँचखपनको व्यवस्थापन सहयोगमा सञ्चालित उक्त गोष्ठी नेपालको पूर्वी पहाडी क्षेत्रमा वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिवृद्धि आयोजना अन्तर्गत आयोजना गरिएको हो ।
आयोजित गोष्ठीमा वनसम्बन्धी मौजुदा ऐन, कानुन, नीति, नियमावली, सामुदायिक वन उपभोक्ता महासंघको विधान तथा संस्थागत व्यवस्था, सामुदायिक वनको कार्ययोजना निर्माण र कार्यान्वयन प्रक्रिया, वन संरक्षण तथा दिगो व्यवस्थापनलगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
गोष्ठीमा सहभागी स्थानीय सरोकारवालाहरूले वन, भूमि तथा जैविक विविधताको संरक्षणमा स्थानीय समुदायको भूमिका, सामुदायिक वन उपभोक्ता समूहको अधिकार र जिम्मेवारी तथा वन व्यवस्थापनका क्रममा देखिने कानुनी र प्रक्रियागत जटिलताबारे आफ्ना जिज्ञासा तथा अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथि पाँचखपन नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठले गोष्ठी फलदायी तथा उपलब्धिमूलक रहेको बताउनुभयो । उहाँले वन संरक्षण र व्यवस्थापनका विषयमा स्थानीय सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्दै कार्यक्रम आयोजना गर्ने आयोजक संस्था तथा व्यवस्थापनमा सहयोग गर्ने पाँचखपन नगर महासंघलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यसैगरी कार्यक्रमकी अध्यक्ष तथा नगर महासंघकी अध्यक्ष कोपिला तामाङले गोष्ठी सफलतापूर्वक सम्पन्न गराउन सहजीकरण गर्ने कोशी प्रदेश महासंघप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । उहाँले दुईदिने कार्यक्रम उपलब्धिमूलक रहेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा सामुदायिक वनमा आबद्ध पदाधिकारीहरूको क्षमता विकासका लागि थप तालिम कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेश महासंघका अध्यक्ष तुलसी संग्रौला, पाँचखपन नगरपालिका वडा नं. ३ की कार्यवाहक अध्यक्ष हिरादेवी श्रेष्ठ, वडा नं. ६ का वडा सदस्यहरू लक्ष्मण मगर र अमृता विश्वकर्मा, कोशी प्रदेश महासंघ सदस्य टीका श्रेष्ठ, जिल्ला महासंघका महासचिव भरत कार्कीलगायत विभिन्न संघसंस्था तथा महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
गोष्ठीले सामुदायिक वनको दिगो व्यवस्थापन, वन तथा जैविक विविधताको संरक्षण र स्थानीय तह तथा सामुदायिक वन उपभोक्ता समूहबीच समन्वय र सहकार्य अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्