काठमाण्डौ । नेपाल उद्योग परिसङ्घले रसुवा बाढी प्रभावितलाई सहयोग गर्न अपील गरेको छ । सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गरेर हिजो रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिले नेपाल उद्योग परिसङ्घलाई स्तब्ध बनाएको जनाएको छ ।
परिसङ्घले विपत्तिको समयमा प्रभावित नागरिकहरूलाई अत्यावश्यक राहत सामग्री उपलब्ध, पुनर्निर्माण तथा आवश्यक कार्य गर्न गराउन परिसङ्घले डिजास्टर रेस्पोन्स कमिटी स्थापना गरी राहत सामाग्री सङ्कलन तथा हस्तान्तरणको काम अगाडि बढाइएको बताइएको छ ।
यस कठिन समयमा सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनाको काममा सक्दो योगदान गर्न सम्पूर्ण सदस्य संस्थाहरू, उद्यमी व्यवसायी एवं व्यावसायिक सङ्घ संस्थाहरू सङ्घद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)ले पनि बुधबारको दिन भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय एवं अपूरणीय जनधनको क्षतिले स्तब्ध भएको जनाएको छ ।
प्रभावित क्षेत्रका जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेख्य कर्जा तथा लगानी रहेकाले यसको प्रभाव ऋणी, व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने जनाएको छ ।
प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज र प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरूले वैकल्पिक सेवा प्रवाहसहित आवश्यक प्रबन्ध गरिरहेका गरिरहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्