काठमाण्डौ । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा हिजोदेखि शुरु भएको जलवायुसम्बन्धी राष्ट्रिय स्तरको सम्मेलनबाट घोषणा पत्र जारी गर्ने तयारी छ ।
सम्मेलन ‘घरपझोङ घोषणापत्र’ जारी गरी आज समापन गर्ने तयारी भैरहेको आयोजक घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो ।
जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलनलगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना गरिएको हो ।
सम्मेलनमा देशभरबाट ४३० भन्दा धेरै पालिकाका जनप्रतिनिधि सहभागी छन् । गएको भदौ १० गते भोटेकोशीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरपझोङमा जलवायु परिवर्तन सम्मेलन गरिएको हो ।
हिजो सम्मेलनको उद्घाटन गर्दै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि सङ्घ, प्रदेश र पालिकाले साझा सङ्कल्पका साथ अघि बढ्नुपर्ने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्