Ads3

मौसमी प्रणाली कमजोर बन्दै, एकाध बाहेकका ठाउँमा मौसम खुल्यो

मौसमी प्रणाली कमजोर बन्दै, एकाध बाहेकका ठाउँमा मौसम खुल्यो

काठमाण्डाै । गएकाे बिहीवारदेखि देशभर सक्रिय रहेको न्यून चापीय मौसमी प्रणाली कमजोर बनेको छ । लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका एक/दुई ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ । धेरै ठाउँमा घाम लाग्न थालेको छ । यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना भने कायमै छ ।

अब भोलिदेखि मौसममा उल्लेख्य सुधार आई घाम लाग्ने मौसमविद्को पूर्वानुमान छ । वर्षा रोकिए पनि गएराति र आज बिहान परेको पानीका कारण देशका प्रमुख नदीहरूमा जलसतह बढेर खतराको तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जलसतह देवघाट बाढी मापन केन्द्रमा खतराको तह ९ मिटरभन्दा माथि अर्थात् झन्डै ११ मिटर पुगेको छ ।

नारायणीका प्रमुख सहायक नदीहरू कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी र त्रिशूलीमा पनि पानीको बहाव उच्च रहेको छ ।

यसैबीच कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिकाको फर्सेमा २५ वटा घर बगेका छन् । त्यहाँका ८० घर जोखिममा परेका छन् ।

नारायणी नदी आसपासका चितवन र नवलपरासीका होचा तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित ठाउँतर्फ जान र नदी किनारमा अनावश्यक भीडभाड नगर्न महाशाखाले आग्रह गरेको छ ।

बाढी र पहिरोको जोखिम अझै कायमै रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविद्काे अनुरोध छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्