Ads3

३ महिनापछि ल्यायाे सुदूरपश्चिम सरकारले बजेट

३ महिनापछि ल्यायाे सुदूरपश्चिम सरकारले बजेट

काठमाण्डाै । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गएकाे असार १ गते प्रदेशसभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकनसहित नयाँ बजेट प्रस्तुत गरिएको हो ।

आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो अघिल्लो सरकारले प्रस्तुत गरेको आकारअनुसार नै रहेको छ ।

बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

यस्तै सङ्घीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने ७ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने ९ अर्ब ६५ करोड, सशर्त अनुदानबाट प्राप्त हुने ६ अर्ब ३ करोड ५८ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको छ ।

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गएकाे असार १ गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि त्याे बजेट पारित हुन सकेन । त्यसपछि असार २९ गते नेकपा (एमाले) को समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

झन्डै २ महिनासम्म प्रदेशमा बजेट शून्यताको अवस्थामा रहेकामा आजदेखि त्यो अन्योल हटेको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्