काठमाण्डौ । रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज २२ औँ दिन भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म १ हजार ३९९ जनाको शव भेटिएको छ भने ५ हजार १७९ जना सम्पर्कविहीन छन् ।
चितवनमा सबैभन्दा धेरै ३६४ वटा शव भेटिएका छन् । त्यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ छन् । उपचारका क्रममा काठमाण्डौमा दुई जनाको ज्यान गएको छ । बाँकीको पहिचानका लागि डीएनए परीक्षणलगायत प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ ।
बाढीपछि १३ हजार ७४२ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न ३० वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा १ हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेका छन् ।
त्यस्तै, विभिन्न १९ अस्पतालमा ३४३ जनाको उपचार गरिएकोमा २८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैरसरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भैरहेका छन् ।
यो बाढीले गरेको क्षति पुनर्निर्माणका लागि ७ खर्ब रुपैयाँ भन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्