सन् २०२३ को अक्टोबर महिनायता इजरायली सेनाले २ हजारभन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएकाे प्रतिवेदन सार्वजनिक भएको छ ।
इजरायली सेनाले प्यालेस्टिनी बालबालिकाहरूलाई निशाना बनाउने क्रम अझ तीव्र पारेको ‘प्यालेस्टिनी प्रिजनर्स सोसाइटी’ को प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ । अहिले कम्तीमा ३५० प्यालेस्टिनी बालबालिकाले इजरायली जेलहरूमा ‘कठोर परिस्थिति’ भोगिरहेका प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार अस्ति मङ्गलवार इजरायली सेनाले वेस्ट बैंकको हेब्रोनबाट कम्तीमा ६ जना बालबालिकालाई पक्राउ गरेको थियो । अहिले यो क्षेत्र इजरायली सेनाको नियन्त्रणमा छ ।
घेराबन्दीमा परेको गाजा क्षेत्रमा बालबालिकासहित हजारौँ मानिसहरू बेपत्ता हुनु र जबरजस्ती बेपत्ता पार्ने नीति निरन्तर चलिरहनुका कारण त्यहाँ पक्राउ परेका बालबालिकाको सङ्ख्यासम्बन्धी जानकारी स्पष्ट नभएको प्यालेस्टिनी अधिकार समूहले जनाएको छ ।
कुनै अभियोग वा रिहाइको मिति नतोकी हिरासतमा राख्ने इजरायली नीतिलाई संस्थाले ‘थप थप उल्लङ्घन र अपराध’ भनेको छ । यसले बालबालिकाहरूलाई अनिश्चित भविष्यको सामना गर्न बाध्य पार्ने र उनीहरूलाई पारिवारिक तथा शैक्षिक स्थिरताबाट वञ्चित गर्ने संस्थाको भनाइ छ ।
प्रतिवेदनमा इजरायली अभ्यासहरूको वर्णन गरिएको छ जुन ‘धम्की र गिरफ्तारी’ बाट शुरू भई ‘यातना, भोकै राख्ने कार्य र स्वास्थ्य सेवाबाट वञ्चित गर्ने’ सम्म पुग्छन् ।
‘प्यालेस्टिनी प्रिजनर्स सोसाइटी’ ले स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाइ सुनिश्चित गर्न, अनुसन्धान लागू गर्न तथा इजरायली जेलहरूमा यातना, भोकमरी र उपचारको अस्वीकार अन्त्य गर्न ‘वास्तविक अन्तर्राष्ट्रिय कारबाही’ का लागि आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्