काठमाण्डाै । निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी छानबिन उपसमितिले प्राप्त कागजात अध्ययन शुरू गरेको छ । प्रहरीले बुझाएको कागजात अध्ययनको काम कात्तिक मसान्तसम्म सकेर मङ्सिर १ गतेदेखि सरोकारवालासँग बयान लिने तयारी रहेको उपसमितिका संयोजक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले जानकारी दिनुभयो ।
गएको चुनावमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले भर्ना गरेका निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको भनिएको अनियमितताबारे प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरी छानबिन गरिरहेको हो ।
नेपाल प्रहरीका १ लाख ३० हजार र सशस्त्र प्रहरीका १५ हजार म्यादी प्रहरीको बैंकिङ कारोबारसहित एक बोरा कागजात समितिमा प्राप्त भएको छ । उपसमितिका संयोजक मनिष झाका अनुसार मङ्सिर १ देखि १५ गतेसम्म बयान, विज्ञको राय र कानूनी परामर्श लिइनेछ ।
सूचना दुरुपयोग र सम्भावित हेरफेर रोक्न कागजातहरू सिंहदरबारमा रहेको समितिकै बैठक कक्षमा, सीसीटीभी क्यामेराको निगरानीमा मात्र अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।
६० दिनको कार्यअवधि पाएको उपसमितिले बाँकी समयभित्रै छानबिन सकी अन्तिम पाँच दिनमा प्रतिवेदन लेखन पूरा गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्